६ महिनामा १६ अर्ब ३३ करोडको धितोपत्र सूचीकृत,कम्पनीको संख्या २६७
Last updated at 11:49 am
चालू आर्थिक वर्ष २०८१/०८२ को पुसमसान्तसम्मको अवधिमा धितोपत्रको दोस्रो बजारमा १६ अर्ब ३३ करोड बराबरको थप धितोपत्र सूचीकृत भएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय प्रतिवेदनमा सो अवधिमा सबैभन्दा धेरै ७ अर्ब १७ करोड बराबरको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको उल्लेख छ ।
सोही अवधिमा ३ करोड ९८ लाख बराबरको एफपीओ, ३ अर्ब ९१ करोड बराबरको हकप्रद शेयर,१ अर्ब २५ करोड बराबरको म्युचुअल फण्ड र ३ अर्ब ९६ करोड बराबरको अन्य शेयर गरी कुल १६ अर्ब ३३ करोड बराबरको थप धितोपत्र सूचीकृत भएको छ।
समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले ४५ करोड बराबरको आईपीओ,८ अर्ब २४ करोड बराबरको हकप्रद शेयर, ८ अर्ब बराबरको म्युचुअल फण्ड र १२ करोड बराबरको ऋणपत्र गरी कुल १६ अर्ब ८१ करोड बराबरको धितोपत्र सार्वजनिक निष्कासन गर्न अनुमति दिएको छ ।
समीक्षा अवधिमा नेप्सेमा सूचीकृत कम्पनीहरुको संख्या २६७ छ । सूचीकृत कम्पनीहरुमध्ये १२९ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी छन् । यसैगरी, ९१ जलविद्युत कम्पनी, २२ वटा उत्पादन तथा प्रशोधन उद्योग, सात वटा होटल, सात वटा लगानी कम्पनी, चार वटा व्यापारिक संस्था र सात वटा अन्य समूह छन्। गत आवको सोही अवधिसम्ममा सूचीकृत कम्पनीहरुको संख्या २७१ थियो ।
सूचीकृत कम्पनीहरुमध्ये सबैभन्दा धेरै बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पूँजीकरणको हिस्सा ५४ दशमलव २ प्रतिशत छ ।