नेपाल टेलिकमले शुरु गर्यो भ्वाइस ओभर वाइफाई सेवा
Last updated at 08:21 pm
नेपाल टेलिकमले मंगलबार आफ्नो २१औं वार्षिकोत्सवका अवसरमा ‘भीओवाइफाई’ सेवाको व्यावसायिक सञ्चालन शुरु गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले यो सेवाको औपचारिक उद्घाटन गरेसँगै सेवा सञ्चालनमा आएको हो ।
भ्वाइस ओभर वाइफाई वा ‘भीओवाईफाई’ मार्फत वाइफाई नेटवर्कबाटै भ्वाइस तथा एसएमएस सेवा प्रयोग गर्न सकिने टेलिकमकी प्रबन्ध निर्देशक संगीत पहाडीले जानकारी दिइन् । उनका अनुसार भोवाईफाई सपोर्ट गर्ने र भोल्टे सेवा सक्रिय भएका जुनसुकै मोबाइल फोनहरूमा यो सेवा उपलब्ध हुनेछ ।
नेपालभित्र रहँदा यो सेवा प्रयोग गर्दा हाललाई साविककै भ्वाइस तथा एसएमएस प्याकेज वा ‘पे एज यु गो’ अनुसार शुल्क लाग्नेछ । विदेशबाट भीओवाइफाई सेवा प्रयोग भने आगमन कल निःशुल्क हुने र बाहिर जाने कलको शुल्क प्रतिमिनेट ३ रुपैयाँ लाग्ने कम्पनीको भनाइ छ ।
मोबाइल नेटवर्क नभएको वा कमजोर रहेका ठाउँमा भीओवाइफाई सेवामा वाइफाईको माध्यमबाट फोन कल गर्न र एसएमएस पठाउन सकिन्छ ।
मोबाइल कलहरू टुजी, थ्रीजी, फोरजीजस्ता सेलुलर नेटवर्कका माध्यमबाट गरिने भए पनि मोबाइल नेटवर्क कमजोर भएका स्थानहरू सम्पर्कविहीन हुन नपरोस् भनेर भीओवाइफाई सेवा शुरु गरिएको कम्पनीले बताएको छ ।
विदेशमा रहेका नेपाल टेलिकमका ग्राहकहरूले पनि यो सेवा प्रयोग गर्न सक्नेछन् । वाइफाई नेटवर्कमा पहुँच भएमा प्रयोगकर्ताले नेपालभित्रै जस्तै फोन कल गर्न र एसएमएस पठाउन सक्नेछन् । कम्पनीले भीओवाइफाई सेवाको सुरुवातसँगै ग्राहकहरूलाई थप सहज र प्रविधिमैत्री सञ्चार सेवा उपलब्ध गराउने लक्ष्य राखेको उल्लेख गरेको छ ।