सिटिजन्स बैंकको नाफामा सामान्य गिरावट
Last updated at 11:46 am
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण आइतबार प्रकाशित गरेको छ। विवरण अनुसार उक्त अवधिमा कम्पनीको खुद नाफा सामान्य घटेको छ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले १ अर्ब २९ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आवको सोही अवधिको तुलनामा २दशमलव शून्य ८ प्रतिशतले कम हो। अघिल्लो आवमा कम्पनीले १ अर्ब ३२ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी बढेपनि खराब कर्जा बढेका कारण कम्पनीको खुद नाफामा असर पर्न गएको हो।
समीक्षा अवधिमा कमपनीको खुद ब्याज आम्दानी ११ दशमलव २० प्रतिशत र खुद फि तथा कमिशन आम्दानी १९ दशमलव ७४ प्रतिशतले बढेको देखिन्छ। त्यसैगरी, कम्पनीको कुल सञ्चालन आम्दानी १५ दशमलव १३ प्रतिशतले बढेको छ भने सञ्चालन मुनाफा २ दशमलव ३२ प्रतिशतले घटेको छ।
समीक्षा अवधिमा कम्पनीको खराब कर्जा ४ दशमलव ९४ प्रतिशत पुगेकाले इम्पेरमेन्ट चार्ज १ अर्ब ७२ करोडबाट बढेर २ अर्ब ६७ करोड पुगेको छ। जसका कारण खुद ब्याज आम्दानी बढेपनि सञ्चालन मुनाफा र खुद नाफा घट्न पुगेको हो।
समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ७६ पैसामा सीमित छ। असार मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात २६ दशमलव शून्य ६ गुणा छ भने प्रतिशेयर नेटवर्थ १५५ रुपैयाँ ४२ पैसा छ। सो अवधिसम्ममा कम्पनीको वितरणयोग्य मुनाफा ७७ करोड ५४ लाख रुपैयाँ छ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले २ खर्ब ११ अर्ब ५० करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ६८ अर्ब ९५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।यसैगरी,कम्पनीको रिजर्भ कोषमा ८ अर्ब १८ करोड रुपैयाँ सञ्चित छ।
कम्पनीको चुक्तापूँजी १४ अर्ब ७६ करोड ९० लाख रुपैयाँ छ । साताको अन्तिम कारोबार दिन बिहीबार धितोपत्र बजार बन्द हुँदा कम्पनीको शेयरमूल्य प्रतिकित्ता २२४ रुपैयाँ छ ।