कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष पक्राउ,करिब ५ अर्ब अपचलनको आरोप
Last updated at 08:08 pm
कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर रायलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले उनलाई नेपाल–भारत सिमानाको बेलहीया नाकाबाट शनिबार पक्राउ गरेको हो।सीआईबीका अनुसार उनलाई म्याद थपका लागि बाँके लाने तयारी छ ।
राय २०७६ देखि २०७९सम्म उक्त कम्पनीको सीईओका रुपमा कार्यरत थिए । बाँकेमा केन्द्रीय कार्यालय रहेको यो बैंक २०६० सालमा स्थापना भएको थियो ।अभियुक्त रायमाथि ४ अर्ब ९० करोड रुपैयाँ अपचलन गरेको आरोप छ ।बैंकमा भएको अपचलनको अनुसन्धान प्रक्रिया अघि बढेपछि उनी फरार थिए ।
रकम अपचलनमा बैंकका पूर्वसीईओ दिनेशकुमार रावत, वित्त विभाग प्रमुख बेदप्रकाश ठकुरी र निरजविक्रम शाह समेत संलग्न रहेको बैंकको आन्तरिक छानबिनबाट खुलेको थियो ।हाल कर्णाली डेभलपमेन्ट बैंकको व्यवस्थापन नेपाल राष्ट्र बैंकको नियन्त्रणमा छ ।केन्द्रीय बैंकले गत पुस ११ गतेदेखि लागू हुने गरी समस्याग्रस्त संस्था घोषणा गरेसँगै शेयर कारोबार पनि रोक्का छ।
नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत प्राप्त उक्त कम्पनीको बाँके, बर्दिया र दाङ जिल्लामा शाखा कार्यालयहरू छन् । समस्याग्रस्त भएपछि ५ अर्बभन्दा बढी निक्षेप के हुन्छ भन्ने चासो बढेको छ । तर, समस्याग्रस्त संस्था घोषणा गर्ने बित्तिकै राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकको व्यवस्थापन नियन्त्रणमा लिएको थियो ।