सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा सामान्य वृद्धि,अरु सूचक यस्तो छ
Last updated at 07:30 am
सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्ष २०८१/०८२ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण मंगलबार प्रकाशित गरेको छ।उक्त वित्तीय विवरण अनुसार सो अवधिमा कम्पनीको खुद नाफा सामान्य बढेको छ।
उक्त अवधिमा कम्पनीले १९ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आवको सोही अवधिको तुलनामा सामान्य अर्थात् ३ दशमलव ३७ प्रतिशत बढी हो। गत आवको सोही अवधिसम्ममा भने कम्पनीले १८ करोड ९७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
समीक्षा अवधिमा कम्पनीले खुद दाबी भुक्तानी ५ अर्ब ६३ करोड ८८ लाख रुपैयाँ गरेको छ। गत आवको सोही अवधिसम्ममा कम्पनीले ४ अर्ब ६१ करोड २३ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो।
कम्पनीले ४ अर्ब ९८ करोड १५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। गत आवको सोही अवधिसम्ममा कम्पनीले ४ अर्ब १५ करोड ७१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। यो गत आवको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन १९ दशमलव ८३ प्रतिशतले बढेको छ।
नाफा बढेपनि कम्पनीको प्रतिशेयर आम्दानी भने सामान्य घटेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी ७० पैसा घटेर ७ रुपैयाँ ८३ पैसामा सीमित भएको छ ।
यसैगरी,कम्पनीको रिटेन्ड अर्निङ्गमा ३२ करोड ८२ लाख रुपैयाँ र अन्य इक्विटीमा ४५ करोड ९८ लाख रुपैयाँ सञ्चित छ।समीक्षा अवधिसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात ५६ दशमलव ७३ गुणा छ भने प्रतिशेयर नेटवर्थ १२३ दशमलव ४४ रुपैयाँ छ।
कम्पनीले महाविपत्ती कोषमा ३८ करोड ६९ लाख रुपैयाँ छुट्याएको छ । कम्पनीको ५ अर्ब १ करोड १९ लाख रुपैयाँ चुक्तापूँजी छ ।