४ बैंक तथा वित्तीय संस्थालाई केन्द्रीय बैंकको कारबाही
Last updated at 03:13 pm
दुई वाणिज्य बैंक र दुई वित्त कम्पनी कारबाहीमा परेका छन् ।नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष चौथो त्रैमासमा नियमकीय पालना नगर्ने ती कम्पनीहरूलाई आर्थिक जरिबाना गराउनुका साथै सचेत गराएको छ ।
केन्द्रीय बैंकले सिटिजन्स बैंक इन्टरनेसनलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई सचेत गराएको छ । राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागबाट प्रेषित निर्देशन विपरीत उक्त कम्पनीले आफ्ना सीईओको करार सम्झौता संशोधन गरी सुविधा वृद्धि गरेको थियो ।
त्यसैगरी,सिटिजन्स फास्ट ट्र्याक लोन अन्तर्गत कर्जा उपयोगका सम्बन्धमा आन्तरिक लेखा परीक्षकबाट विस्तृत अध्ययन गर्न केन्द्रीय बैंकबाट दिइएको निर्देशन पालना नगरेपछि उक्त कम्पनीको सञ्चालक समितिलाई सचेतसमेत गराएको केन्द्रीय बैंकले जनाएको छ ।
यसैगरी, सोही कम्पनीले ब्याजदर अन्तर गणना गलत तरिकाबाट गरेको, नयाँ कर्जा प्रवाह गरी पुरानो कर्जा तथा ब्याज चुक्ता गरेको, दाबी परेका बैंक जमानतको भुक्तानी तोकिएको समय अवधिभित्र नगरेको, लामो समयसम्म निरन्तर अस्थायी रूपमा म्याद बढाइएका कर्जाहरूमा एजेन्सी अनुसार कर्जा नोक्सानी व्यवस्था कायम नगरेको, चालु पूँजीसम्बन्धी मार्गदर्शन २०७९ मा भएका व्यवस्था पूर्णरूपमा पालना नगरेको पाइएको छ ।
बैंकले तोकिएका क्षेत्रमा प्रवाह भएका कर्जाको गलत रिपोर्टिङ समेत गरेपछि सिटिजन्स बैंक सीईओलाई सचेत गराएको केन्द्रीय बैंकले जनाएको छ ।
त्यसैगरी अर्को वाणिज्य बैंक एनआईसी एशिया पनि कारबाहीमा परेको छ । उक्त कम्पनीले ऋणीबाट बढी ब्याज असुल गरेको पाइएको, ऋणीसँग कर्जा सम्झौता गर्दा सम्झौतापत्रमा कर्जाको प्रकार, लागु हुने ब्याजदर, किस्तासम्बन्धी व्यवस्था लगायत व्यवस्था बमोजिम सरल एवं स्पष्ट भाषामा उल्लेख गरेको नपाइएको भन्दै सचेत गराइएको छ ।
ब्याजदर परिवर्तन गरेको जानकारी समेत ऋणीलाई दिएको नदेखिएपछि एनआईसी एसियालाई सचेत गराएको केन्द्रीय बैंकले जनाएको छ ।
त्यस्तै गत आव केन्द्रीय बैंकले पोखरा फाइनान्सलाई अनिवार्य नगद मौज्दात कायम नगरेको भन्दै आर्थिक जरिबाना गरेको छ ।पोखरा फाइनान्सले २७ माघदेखि २३ चैत २०८१ सम्म अवधिका लागि न्यूनतम अनिवार्य मौज्दात रकम कायम नगरेपछि ३२ लाख ७७ हजार ६७६ रुपैयाँ जरिबाना गरेको हो ।
केन्द्रीय बैंकले गुह्येश्वरी मर्चेन्ट बैंकिङ एन्ड फानान्सका सञ्चालक तथा प्रमुख कार्यकारीलाई पनि सचेत गराएको छ ।केन्द्रीय बैंकले नोक्सानी व्यवस्था तथा वर्गीकरणको रिपोर्टिङमा कैफियत पाइएको र कतिपय कर्जाको बक्यौता ब्याज र किस्ता असुल गर्न थप कर्जा प्रवाह गरी कर्जा नियमित गरेको पाएपछि सीईओलाई सचेत गराएको छ ।