एशियन ब्याट्रिज र हिमालयन क्यापिटल बीच सम्झौता, १३ लाख कित्ता आईपीओ निष्कासन गर्ने योजना
Last updated at 03:33 pm
एशियन ब्याट्रिज लिमिटेड र हिमालयन क्यापिटल लिमिटेड बीच धितोपत्र सार्वजनिक निष्कासनका निम्ति धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता भएको छ ।
नेपाली बजारमा पूँजी विकासका निम्ति नवीनतम प्रकृतिका सेवा प्रदान गर्ने क्रममा रहेको हिमालयन क्यापिटल लिमिटेडले देशको औद्योेगिक तथा ऊर्जा आत्मनिर्भरता क्षेत्रलाई प्रतिनिधित्व गर्ने एशियन ब्याट्रिज लिमिटेडसँग आईपीओ निष्कासन गर्न निष्कासन तथा बिक्री प्रबन्धन सम्बन्धी सम्झौता गरेको हो ।
हालै भएको सम्झौतामा हिमालयन क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) परमेश्वर पन्त र एशियन ब्याट्रिज लिमिटेडका तर्फबाट अध्यक्ष सुरेश लोहनीले हस्ताक्षर गरेका छन् ।
सन् २०१३ देखि व्यावसायिक उत्पादन थालेको एशियन ब्याट्रिजको उद्योग तथा रजिस्टर्ड कार्यालय मोरङ बुढीगंगा गाँउपालिका–४ मा छ भने हाल केन्द्रीय कार्यालय ललितपुर सानेपामा छ । कम्पनीले आफ्नो जारी पूँजी ६५ करोड रहेकोले त्यसको २० प्रतिशत अर्थात् १३ करोड बराबरको १३ लाख कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गर्ने तयारी गरेको छ ।
नेपालको सूचना प्रविधि, कृषि तथा रियल इस्टेट क्षेत्रमा संलग्न प्रभावशाली व्यक्तिहरूद्वारा स्थापित एशियन ब्याट्रिजले छोटो समयमै गुणस्तरीय लिड–एसिड ब्याट्री उत्पादन गर्ने भरपर्दो नेपाली उत्पादकका रूपमा आफूलाई स्थापित गर्न सफल भएको छ । कम्पनीले नेपालमा हाल सवारीसाधन, विद्युतीय रिक्सा स्कुटर, मोटरसाइकल तथा सोलारमा प्रयोग हुने ब्याट्री उत्पादन गर्दै आएको बताएको छ ।
यस कम्पनीले विभिन्न किसिमको ब्याट्री प्रशोधन गरी लिड, अक्साइड उत्पादन गरी आन्तरिक बजारमा बिक्री गर्दै आएको छ । कम्पनीले निकट भविष्यमा लिथियम ब्याट्री उत्पादन गर्ने र प्रयोग भइसकेको ब्याट्रीको पुनः प्रशोधन गर्नुका साथै नेपालकै सबैभन्दा विश्वासिलो र प्राथमिक पावर सोलुसन ब्रान्ड बन्ने उद्देश्य राखेको छ । यसले ग्राहकलाई गुणस्तरीय, भरपर्दो, वारेन्टी सहित उत्पादन र छिटो सेवा प्रदान गर्ने लक्ष्य लिएको छ ।
देशका विभिन्न प्रमुख स्थानमा रहेका १० शाखामार्फत कम्पनीले सेवा तथा उत्पादनको सहज पहुँच सुनिश्चित गरेको छ । नेपालमै निर्माण भएका एशियन ब्याट्रिजका उत्पादन गुणस्तरमा अब्बल, प्रयोगमा सरल र मूल्यमा सुलभ छन् । जसले घरायसी तथा व्यावसायिक दुवै प्रयोगकर्ताका लागि पूँजीगत खर्च र सञ्चालन खर्च घटाउन सहयोग गर्दछ ।