साताको शेयर समीक्षा : लगातार बजार तल झर्दा लगानीकर्ता अन्योलमा
Last updated at 07:27 am
यो साता धितोपत्र बजार घटेको छ । यो साता बजार २ दशमलव ९ प्रतिशत अर्थात् ८२ अंकले घटेको छ ।
लगातार सात दिनसम्म घटेको बजार साताको अन्तिम कारोबार दिन अर्थात् बुधबार भने १७दशमलव १२ अंक बढेर बन्द भएको थियो ।
गत साता २ हजार ८१८ अंकमा रहेको बजार यो साता लगातार घटेर २ हजार ७३६ अंकमा आइपुगेको छ । यो साता चार दिन कारोबार भएको छ । अघिल्लो साता शेयर बजारमा पाँच दिन कारोबार भएको थियो ।
यो साता चार दिन कारोबार भएकोमा तीन दिन बजार घट्यो भने अन्तिम एक दिन बजार बढेको छ । यो साता चार दिनको कारोबारमा ३५ अर्ब ९ करोडबराबरको शेयर खरिदबिक्री भएको छ भने अघिल्लो साता ६२ अर्ब ५५ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको थियो । यो साता दोस्रो बजारमा नेप्से परिसूचक र दैनिक औषत कारोबार दुवै घट्यो देखिन्छ ।
यो साता बजार पूँजीकरण ४५ खर्ब ४३ अर्ब रहेको छ । अघिल्लो साता भने बजार पूँजीकरण ४६ खर्ब ७९ अर्ब रुपैयाँ बराबर थियो । यो साता लगातार बजार घटेका कारण लगानीकर्ताको सम्पत्ति पनि १ खर्ब ३६ अर्ब रुपैयाँ बराबर घटेको छ ।
बजारमा निरन्तर दबाब आउँदा यो साता सबै उपसमूह घटेका छन् । यो साता वित्त, उत्पादन, लगानी र व्यापार सेक्टर ४ प्रतिशतभन्दा धेरैले घटेका छन् ।
यो साता पनि कारोबार रकममा भने पुनर्बीमा कम्पनीकै वर्चस्व देखिएको छ ।नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का अनुसार साताभरमा हिमालयन रिइन्स्योरेन्स ३ अर्ब १ करोड २५ लाख रुपैयाँ तथा नेपाल पुनर्बीमा कम्पनीको २ अर्ब २३ करोड २१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
त्यसबाहेक माछापुच्छ्रे बैंकको संस्थापक शेयर, घलेम्दी हाइड्रोपावर, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स जस्ता कम्पनी, कारोबार रकम तथा संख्या समेतका आधारमा अगाडि छन् ।
कस्तो होला यो साताको बजार ?
लगातार सात दिन नै बजारघटेर अन्तिम दिन बजार बढेको छ। बजार घट्दा घट्दा लगानीकर्ता आत्तिएका छन् । ता पनि यो साता बजारले बढ्ने संकेत देखाएको छ । बढेको बजारमा करेक्सन पर्याप्त भइसकेकोले यो साता बजारले वृद्धिको लय कायम राख्ने अनुमान लगानीकर्ताले गरेका छन् । लगानीकर्ता सन्तोष न्यौपाने बजार घट्नुपर्ने कारण केहि पनि नभएकाले र करेक्सनसमेत सकिएकाले यो साता बजार बढ्नेमा शंका नभएको दावी गर्छन्।
उनका अनुसार बजारलाई प्रभाव पार्ने आर्थिक सूचकहरू सबै सकारात्मक छन् ।नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको माघ मसान्तसम्मको वित्तीय रिपोर्ट अनुसार उच्च विदेशी मुद्रा सञ्चिति, भुक्तानी सन्तुलन बचत, रेमिट्यान्सको वृद्धिदर कायम, घटेको ब्याजदर, पर्याप्त लगानीयोग्य रकम जस्ता सबै वित्तीय सूचक बजार अनुकूल छन् । यसले पनि बजार बढाउने आधार बलियो देखाउँछ ।