चालू आर्थिक वर्षको ६ महिना : निर्यात ९८ अर्ब ९७ करोड, आयात ८ खर्ब २२ अर्ब
Last updated at 07:05 pm
नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८१/८२ को प्रथम छ महिना अर्थात पुस मसान्तसम्मको आर्थिक तथा वित्तीय प्रतिवेदन आइतबार सार्वजनिक गरेको छ।
जसअनुसार सो अवधिमा मुलुकमा आयातको तुलनामा निर्यात उच्च दरमा बढेको छ । विगतको तुलनामा निर्यात बढे पनि समग्रतामा निर्यातको तुलनामा आयातको अवस्था निकै उच्च छ ।
प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८१/८२ को छ महिनामा कुल वस्तु निर्यात ३१.८ प्रतिशतले वृद्धि भएर ९८ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ ।यसैगरी, सो अवधिमा आयात भने कुल वस्तु आयात जम्मा ७.१ प्रतिशतले बढेर ८ खर्ब २२ अर्ब ३७ रुपैयाँ करोड पुगेको छ । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः ५.९ प्रतिशत, ८.९ प्रतिशत र ९.० प्रतिशतले वृद्धि भएको छ।
यसैगरी, सो अवधिमा मुलुकको मुद्रास्फीति ५.४१ प्रतिशत छ । २०८१ पुस महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.४१ प्रतिशत छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.२६ प्रतिशत थियो । त्यस्तै विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ४.१ प्रतिशत र अमेरिकी डलरमा १.१ प्रतिशतले बढेको छ ।
शोधनान्तर स्थिति २४९ अर्ब २६ करोड रुपैयाँ बचतमा छ । २०८१ असार मसान्तमा २ हजार ४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १३.५ प्रतिशतले वृद्धि भई २०८१ पुस मसान्तमा २ हजार ३१६ अर्ब ८४ करोड पुगेको छ ।
त्यस्तै २०८१ पुस मसान्तमा धितोपत्र बजार पूँजीकरण ४ हजार ३०२ अर्ब ८८ करोड कायम छ । २०८० पुस मसान्तमा बजार पूँजीकरण ३ हजार ३३० अर्ब ७५ करोड थियो ।
६ महिनामा ७ खर्ब ६३ अर्ब
सो अवधिमा ७ खर्ब ६३ अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ । पुसमा मात्र १ खर्ब २२ अर्ब रेमिट्यान्स भित्रिएको छ । यस वर्ष औसत १ खर्ब माथि रेमिट्यान्स आएको देखिन्छ । यस वर्ष रेमिट्यान्स आप्रवाहमा ४.१ प्रतिशतको मात्र वृद्धि देखिन्छ । अघिल्लो वर्षको यसै अवधिमा रेमिट्यान्स २२.२ प्रतिशतले बढेको थियो ।
अमेरिकी डलरमा रेमिट्यान्स १.१ प्रतिशतले सुधार भई ५ अर्ब ५८ करोड पुगेको छ । अघिल्लो वर्ष अमेरिकी डलरमा रेमिट्यान्स १९.५ प्रतिशतले बढेको थियो ।
यस वर्ष वैदेशिक रोजगारीमा जाने युवा संख्यामा भने सुधार देखिएको छ । यस वर्ष ६ महिनामा नयाँ श्रम स्वीकृति (संस्थागतरव्यक्तिगत) लिने नेपालीको संख्या २ लाख ३० हजार ४३९ र पुनः श्रम स्वीकृति (संस्थागतरव्यक्तिगत) लिनेको संख्या १ लाख ६२ हजार ६२८ छ ।
अघिल्लो वर्षको सोही अवधिमा यो संख्या क्रमशः २ लाख ६ हजार ३९० र १ लाख ३३ हजार ४० थियो ।