अमेरिकाले चीन, क्यानडा र मेक्सिकोबाट आयात हुने वस्तुमा बढायो शुल्क
Last updated at 05:48 pm
अमेरिकाले चीन, क्यानडा र मेक्सिकोबाट आयात हुने वस्तुमा शुल्क बढाएको छ ।
अमेरिकी राष्ट्रपति कार्यालय व्हाइट हाउसले डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल शुरुवातसँगै ती देशको उत्पादनमा क्रमशः २५ प्रतिशत, २५ प्रतिशत र १०प्रतिशत ट्यारिफ (शुल्क) थप लागू गर्ने घोषणा गरेको थियो ।
ट्रम्पले यो कदम अमेरिकी सीमासम्म आइपुग्ने ठूलो सङ्ख्यामा रहेका कागजातविहीन आप्रवासीलाई सम्बोधन गर्न र छिमेकीसँगको व्यापार घाटा कम गर्न चालिएको बताएका छन्।
चीन, क्यानडा र मेक्सिको अमेरिकाका मुख्य व्यापार साझेदार हुन्। गत वर्ष अमेरिकामा भएका आयातमा यी तीनले देशको हिस्सा मात्र ४० प्रतिशत थियो।जसले गर्दा आयातमा बढाइएको शुल्कले एउटा मुख्य व्यापार युद्ध चर्कनुका साथै अमेरिकामा मूल्य बढ्ने चिन्ता भइरहेको छ।
यो निर्णयसँगै चीनको उत्पादन उद्योगमा ठूलो असर पर्ने सम्भावना छ । ट्रम्पको पहिलो कार्यकालको दौरान पनि अमेरिकी-चीन व्यापार युद्धले चीनका उत्पादक र निर्यातकर्ताहरूसँग जटिल अवस्था सृजना गरेको थियो । यो समस्या अहिलेको कार्यकालमा पनि कायमै रहने देखिएको छ ।
ट्रम्पको नयाँ नीति अनुसार उक्त निर्णय फेब्रुअरी १ अर्थात् माघ १९ गतेबाट लागू भएको छ । ट्रम्पले भनेका छन् कि चीन, क्यानडा र मेक्सिको यो ट्यारिफबाट बच्नका लागि थप केही गर्न सक्दैनन् ।
सन् २०१८ यता अमेरिकामा चीनबाट हुने आयात खस्किएको छ।खासगरि चीनबाट अमेरिकामा मोबाइल फोन, ल्यापटप, ट्याब्लेट, विद्युतीय उपकरण, औद्योगिक मेशिनहरू, फर्निचर र घरायसी सामान, रेडिमेड कपडा,जुत्ताचप्पल तथा प्लास्टिकका खेलौना, गिफ्ट आइटमहरू आयात हुने गर्दछ ।
उता मेक्सिकोबाट भने कार, ट्रक, अटोमोबाइलका उपकरणहरु,मेडिकल उपकरण, एभोकाडो, टमाटर तथा कच्चा तेल र प्राकृतिक ग्याँस आयात हुन्छ ।त्यस्तै, क्यानडाबाट खनिज इन्धन, प्राकृतिक ग्यास, फलाम, स्टिल, एल्युमिनियम, गहुँ, मासु, डेरीका उत्पादनहरु, कार, ट्रक, अटोमोबाइल उपकरण, काठ र कागज आयात हुन्छन् ।
यो नीतिले चीनका व्यापारिक उद्योगमा अनिश्चितता थप्ने निश्चित छ । कम्बोडिया र भियतनाम जस्ता दक्षिण(पूर्वी एशियाली मुलुकहरूमा रहेका चिनियाँ व्यवसायीहरू उत्पादन स्थानान्तरण गर्ने योजनामा छन् । केही प्रमुख कम्पनीहरू जस्तै नाइकी, एडिडास र पुमाले चीनबाट उत्पादन हटाएर अन्य देशहरूमा सार्ने काम थालेका छन् ।
यो नीतिले चीनको उत्पादन र निर्यातमा ठूलो असर पर्न सक्छ। यसका कारण चीनका विभिन्न उद्योगहरूले आफ्नो आपूर्ति श्रृंखलालाई पुनः संरचना गर्न थालेका छन् । यसबाहेक ट्रम्पको निर्णयले व्यापारिक युद्धमा नयाँ जटिलताहरू थप्न सक्छ, जसको प्रत्यक्ष असर अमेरिकी र चिनियाँ व्यवसायीहरूको मुनाफा र उत्पादन लागतमा पर्न सक्छ ।
चीनको व्यापारिक रणनीतिका बारेमा चिन्ता व्यक्त गर्दै, चाइना केमर्सियल चेम्बरका केनी याओले भने, ‘चीनका व्यवसायीहरू अब सोचिरहेका छन् कि ट्रम्पले सप्लाई चेनलाई लक्ष्य बनाएर अन्य मुलुकहरूमा पनि ट्यारिफ लगाउन सक्छन् । यसलाई ध्यानमा राखेर, चिनियाँ व्यवसायहरूले अफ्रिका र ल्याटिन अमेरिकामा नयाँ बजार खोज्न थालेका छन् ।’
के हो ट्यारिफ ?
सामान्यतया ट्यारिफ (शुल्क) र ट्याक्स (कर) उस्तै उस्तै जस्तो लाग्छ । दुबैले सरकारी राजस्व बढाउन मद्दत गर्छन् । तर यी फरक- फरक हुन् । ट्यारिफ आयातित वा निर्यात गरिने सामानहरुमा लगाइने शुल्क हो । प्राय : विदेशी उत्पादनलाई कम प्रतिस्पर्धी बनाएर व्यापारलाई प्राभाव पार्न यसको प्रयोग गरिन्छ । कर भने राजस्वमा दाखिल हुने गरी व्यक्ति र कम्पनीले सरोकारवालाई कार्यालयलाई अनिवार्य बुझाउनुपर्ने विभिन्न प्रकारको रकम हो ।
अहिले लगाएको शुल्क चीन, क्यानडा र मेक्सिकोबाट अमेरिकामा आयात हुने वस्तुका लागि हो । शुल्क वृद्धि हुँदा ती देशबाट आयात हुने वस्तुको उपभोक्ता मूल्य पनि बढ्छ । विदेशी वस्तुको मूल्य बढ्दा उपभोक्ताले सस्तो स्वदेशी वस्तु रोज्ने गर्दछन्।
त्यसो त उनले भविष्यमा यूरोपेली संघ( ईयू) का लागि समेत आयात शुल्क लगाउने योजना रहेको बताएका छन्।एजेन्सीहरु