हकप्रद र बोनस शेयर निष्कासन गरेर पूँजी वृद्धि गर्ने पुनर्बीमा कम्पनीको योजना
Last updated at 06:14 pm
नेपालमा हाल सञ्चालनमा रहेका दुई वटा पुनर्बीमा कम्पनीहरुले अबको केहि समयपछि हकप्रद र बोनस शेयर निष्कासन गरेर पूँजी वृद्धि गर्ने योजना बनाएका छन् ।
हाल मुलुकमा नेपाल पुनर्बीमा कम्पनी लिमिटेड र हिमालयन रि–इन्स्योरेन्स सञ्चालनमा छन् । ती कम्पनीहरुले चालू आर्थिक वर्षभित्र नै चुक्तापूँजी २० अर्ब रुपैयाँ पुर्याउन नसक्ने बताएकाले बीमा प्राधिकरणले उक्त कार्य पुरा गर्न थप एक वर्ष समयावधि लम्ब्याएको छ । सरकारको समेत लगानी रहेको नेपाल पुनर्बीमा कम्पनीको चुक्तापूँजी १२ अर्ब ८१ करोड रुपैयाँ छ भने केहिवर्ष अघिमात्र आईपीओ जारी गरेको हिमालयन रि–इन्स्योरेन्सको चुक्तापूँजी १० अर्ब रुपैयाँ छ ।
ती कम्पनीहरुले आगामी आर्थिक वर्षको माघ १८ गतेसम्म चुक्तापूँजी २० अर्ब रुपैयाँ पुर्याउने भन्दै बीमा प्राधिकरणसमक्ष भावी योजना बुझाएका छन् । योसँगै प्राधिकरणले दुई कम्पनीलाई चुक्तापूँजी २०/२० अर्ब पुर्याउनका लागि एक वर्षको समयसीमा थप गरेको हो।
जसअनुसार अब नेपाल पुनर्बीमा कम्पनीले करिब ६ अर्ब ५८ करोड रुपैयाँ र हिमालयनले ९ अर्ब ६० करोड रुपैयाँ पूँजी थप गर्नु आवश्यक पर्छ ।बीमा प्राधिकरणका अनुसार ती कम्पनीहरुले पूँजी वृद्धि योजना ल्याएअनुसार नै एक वर्षको समयसीमा थप गर्नुपरेको बताएको छ ।
ती कम्पनीहरुले आगामी माघ महिनासम्म चुक्तापूँजी पुर्याउने योजनासहित प्रतिवद्धता गरेकाले योजना स्वीकृत गरेको प्राधिकरण श्रोतको भनाइ छ।खासगरी ती कम्पनीले आफ्नो योजनामा चालू आर्थिक वर्षको नाफाबाट दिने बोनस शयर र हकप्रद निष्कासनलाई समेत आधार बनाएर पूँजी वृद्धि गर्ने योजना बनाएका छन् ।
गत वर्ष मात्रै बीमा प्राधिकरणले पुनर्बीमा कम्पनीहरुलाई न्यूनतम चुक्तापुँजी २० अर्ब रुपैयाँ पुर्याउन निर्देशन दिएको थियो। सोहीबमोजिम प्राधिकरणले दुवै कम्पनीलाई पूँजी वृद्धि योजना पेस गर्न निर्देशन दिएको थियो। स्वदेशभित्र र बाहिरको समेत पुनर्बीमा व्यापारको जोखिम भार बहनका लागि वित्तीय सबलता जरुरी भएकाले तत्कालै पूँजी वृद्धि गर्न जरुरी रहेको प्राधिकरणको निष्कर्ष छ।
हुन त बीमा प्राधिकरणले हिमालयन रिलाई भने हकप्रद शेयर ल्याउन पूर्वस्वीकृति दिइसकेको छ। तर पनि उक्त कम्पनीले हकप्रद शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेको छैन।
त्यसो त नेपाल पुनर्बीमा कम्पनीसँग पनि न्यूनतम चुक्तापुँजी पुर्याउने एकमात्र विकल्प हकप्रद शेयर निष्कासन नै हो ।उक्त कम्पनीले आर्थिक वर्ष २०७९/८० मा शेयरधनीहरुलाई ४.७५ प्रतिशत बोनस शेयर वितरण गरेको थियो।