६ महिनामा सिमेन्ट र क्लिंकरको निर्यात घट्यो
Last updated at 06:36 pm
चालू आर्थिक वर्षको पहिलो छ महिना(साउनदेखि पुस) सम्ममा १ अर्ब ३७ करोड ९० लाख ६६ हजार रुपैयाँको सिमेन्ट र क्लिंकर निर्यात भएको छ ।
गत आर्थिक वर्षको ६ महिनाको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा २२ प्रतिशतले सिमेन्ट र क्लिंकर निर्यात घटेको हो।
भन्सार विभागका अनुसार गत आर्थिक वर्षको साउनदेखि पुससम्म १ अर्ब ७६ करोड ३३ लाख १० हजार रुपैयाँको सिमेन्ट र क्लिंकर निर्यात भएको छ ।विभागका अनुसार चालू आर्थिक वर्षको छ महिनामा ८८ करोड ३५ लाख ९० हजार रुपैयाँको सिमेन्ट र ४९ करोड ५४ लाख ७६ हजार रुपैयाँको क्लिंकर निर्यात भएको छ ।
चालू आर्थिक वर्षको छ महिनामा ४ लाख ४९ हजार ३५१ टन सिमेन्ट र ४ लाख ५४ हजार ६२२ टन क्लिंकर निर्यात भएको विभागको तथ्यांक छ । गत आर्थिक वर्षको छ महिनामा २ लाख २२ हजार ११७ टन क्लिकंर र १४ लाख ५० हजार २५० टन सिमेन्ट निर्यात भएको थियो ।
भारतीय निकाय बीआईएस (भारतीय मानक ब्यूरो) ले आयात हुने सबै सिमेन्ट तथा क्लिंकरलाई गुणस्तर प्रमाणपत्र अनिवार्य गरेकोले केही उद्योगको नवीकरण नभएको र नयाँ उद्योगले समेत प्रमाणपत्र लिन नसकेकाले निर्यात घटेको व्यवसायीहरुको भनाइ छ ।
रकम घटे पनि सिमेन्ट र क्लिंकरको निर्यात भने उल्लेख्य रुपमा बढेको छ। केही वर्ष अघिसम्म सिमेन्ट र क्लिंकरमा परनिर्भर नेपालले २०७९ साउनदेखि सिमेन्ट निर्यात थालेको थियो।
सिमेन्ट उत्पादक संघका अनुसार नेपालका सिमेन्ट उद्योगले वार्षिक करिब साढे २ करोड टन सिमेन्ट उत्पादन गर्न सक्छन्। स्वदेशी बजारमा वार्षिक करिब १ करोड २० लाख टन मात्र खपत हुन्छ। बाँकी सवा करोड मेट्रिक टन सिमेन्ट निर्यात गर्न सक्ने क्षमता छ। पछिल्लो समय धेरै लगानी भएको क्षेत्रमध्ये एक सिमेन्ट उद्योग पनि हो।
सरकारले सहजीकरण गरे सिमेन्ट निर्यात गरेर मुलुकको व्यापार घाटा केही रूपमा भए पनि कम गर्न सकिने व्यवसायीहरुको भनाइ छ। त्यसका लागि सरकारले नीतिगत सुधार गरेर वातावरण बनाउनु पर्छ।