६ महिनामा थपियो १ खर्बभन्दा बढी सार्वजनिक ऋण
Last updated at 07:03 pm
नेपालको कुल सार्वजनिक ऋण २५ खर्ब ३६ अर्ब १३ करोड रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार यो पुस मसान्तसम्मको हो ।
चालू आर्थिक वर्षको पहिलो ६ महिना अर्थात् साउनदेखि पुससम्ममा मात्रै १ खर्ब २ अर्ब ३ करोड रुपैयाँले सरकारी ऋण थपिएको छ ।
त्यसो त गत असार मसान्तसम्ममा सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब ९ करोड रुपैयाँ थियो । कुल सार्वजनिक ऋणमध्ये आन्तरिक १२ खर्ब ३४ अर्ब ७१ करोड र बाह्य १३ खर्ब १ अर्ब ४१ करोड रुपैयाँ रहेको उक्त कार्यालयले बताएको छ ।
पछिल्ला महिनामा विनिमय दरमा आएको उतारचढावका कारण सार्वजनिक ऋणको दायित्व भने घटेको छ । ‘यस आर्थिक वर्षको पुस मसान्तसम्म विनियम दरमा भएको परिवर्तनले ११ अर्ब ६१ करोड सार्वजनिक ऋण दायित्वको वृद्धिमा प्रभाव परेको छ ।
गत पुससम्मको कुल सार्वजनिक ऋणमा वैदेशिक ऋणको हिस्सा ५१.३१ र आन्तरिक ऋणको हिस्सा ४८.६८ प्रतिशत छ’, सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।
सार्वजनिक ऋण २५ करोडभन्दा माथि हुनु भनेको नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) को ४४ दशमलव ४६ प्रतिशत हो । नेपालजस्तो मुलुकका लागि कुल गार्हस्थ उत्पादनको ४० प्रतिशत नाघ्नु पनि खतराको संकेतका रूपमा लिनु पर्ने विज्ञहरुको भनाइ छ । विकसित मुलुकहरूले भने जीडीपीको २०० प्रतिशत पनि सार्वजनिक ऋण लिएको तथ्यांक छ ।
ती मुलुकले गर्ने उद्योग र व्यापारका कारण हुने आम्दानीका आधारमा त्यो ठूलो नहुने अर्थविद्हरूको तर्क छ । तर, नेपालजस्तो उद्योग धन्दा खासै नभएको अनि भन्सार करमा आधारित अर्थतन्त्र मुलुकका लागि यो खतरा भएको उनीहरुको भनाइ छ ।